‘आगजनी र लुटपाटमा संलग्न भेटिए माओवादी कार्यकर्तालाई कारबाही होस्’

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्न भए प्रमाणसहित आफ्ना नेता–कार्यकर्तामाथि पनि कडा कारबाही गर्न नेकपा माओवादी केन्द्रले स्पष्ट पारेको छ ।
पार्टीका प्रवक्ता अग्नि सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी र तोडफोड गरिएको तथ्य जनतासामु स्पष्ट छ । यस्ता घटनामा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कडाभन्दा कडा कारबाही गर्न तयार छौं ।’
सापकोटाले हालको आन्दोलनमा जेनजी पुस्ताले उठाएका मागप्रति माओवादी केन्द्रको धारणा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरिसकेको जानकारी गराउँदै आन्दोलनमा प्रतिगामी, लोकतन्त्र तथा गणतन्त्रविरोधी तत्वहरू घुसेर वितण्डा मच्चाएको दाबी गरेका छन् ।
उनले आगजनी र लुटपाटमा माओवादी कार्यकर्ता संलग्न रहेको भन्ने प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै भने, ‘हाम्रा कार्यकर्ता यस्ता अराजक गतिविधिमा संलग्न रहेको देखिए कुनै किसिमको संरक्षण हुने छैन ।’ साथै, यस्ता विध्वंसात्मक कार्यप्रति पार्टीले स्पष्ट विरोध र भत्र्सना गरेको उनले जनाएका छन् ।
माओवादी केन्द्रले राजनीतिक आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति र व्यक्तिगत घरमा क्षति गर्ने कार्यको कुनै पनि हालतमा समर्थन गर्न नसकिने भन्दै दोषी जो–कोही भए पनि कारबाहीको माग गरेको हो ।








