बैंकिङ सेवाहरू सञ्चालनमा सहयोग गरिदिन सिबिफिनको अनुरोध

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ सेवाहरू सहजरुपमा सञ्चालन गर्न सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सिबिफिनले यस्तो अनुरोध गरेको हो ।
सुशासनको प्रत्याभूतिका लागि जेन–जी अभियन्ताहरूको आह्वानमा भएको दुखद् एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन अर्पण गरेका युवा र सुरक्षाकर्मीहरूप्रति सिबिफिनले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै आफ्ना सन्ततिको वियोगमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ ‘विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० स्तब्ध छ र गहिरो दुःख प्रकट गर्दछ ।’
सिबिफिनले यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकाङ्क्षाहरूलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र सदैव तत्पर रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
यसै क्रममा अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेसा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको उल्लेख गरिएको छ ।








