जेनजी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छ- सुदन गुरुङ

काठमाडौँ । जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोली (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिए ।
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए ।
अभियन्ता गुरुङले भने ‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इन्डियन, चाइनिज जे भनेपनि मेरो निम्ति देश ठुलो हो, लड्छु । भोली बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भएपनि लड्छु ।’
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । शहीद प्रवीण कुलुङका दिदी अनिता कुलुङले सो आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री कार्कीसँग माग गरे ।
उनले भने ‘हाम्रो आमा हामीलाई साथ दिन सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । पक्कै पनि एउटा आमाले आमाले पीडा बुझ्छन् । र उहाँले हामीलाई निकासको लागि यत्रो जुन बलिदानी भएको छ । अबोध बालबालिकाहरूको हत्या गरेको छ । यसको छानबिन गरी दोषीलाई हदसम्मको सजाय दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । त्यो होस भन्नेमा पनि माग गर्न चाहन्छौँ । नभएको खण्डमा हामी चुप लागेर बस्ने छैनौँ ।’
सरकारले आजै सो आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरूलाई शहीद घोषणा गरी उनीहरूलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।








