रास्वपा छाड्दै सुमनाले भनिन्– आफ्ना नेताहरूको पूजा गर्न बन्द गर्नुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जाल पोस्टमार्फत श्रेष्ठले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा परित्याग गरेको जानकारी दिएकी हुन् ।
उनले पार्टीभित्र आलोचनालाई दमन गर्ने प्रवृत्ति मौलाएको आरोप लगाउँदै ‘मीडिया ट्रायल’ गर्ने संस्कार अस्वीकार्य भएको बताएकी छन् ।
‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गर्दै त्यसको बोझ सबैले बोक्नुपर्ने संस्कार बन्यो,’ श्रेष्ठले लेखेकी छिन्, ‘पार्टीभन्दा नेता, र नेताभन्दा माथि अहंकार राख्ने प्रवृत्तिले मलाई सधैं असहज बनायो ।’
उनले पार्टीभित्र आलोचना गर्नेलाई टार्गेट गरी मिडियामा चरित्र हत्या गर्ने शैली अपनाइएको बताउँदै, आफूले धेरै पटक चेतावनी दिँदा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् ।
‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु,’ उनले भनिन्, ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, मैले पार्टी छोडेँ ।’
श्रेष्ठले कांग्रेस, एमालेलगायतका दलहरूका तेस्रो पुस्ताका नेताहरूप्रति पनि आलोचना गरेकी छन् । देशको आजको परिस्थितिको जिम्मेवारी उनीहरूकै ‘नेतृत्वको बहेरापन’ कारण आएको बताउँदै अब नेता पूजा होइन, जवाफदेही बनाउने समय आएको उनले बताइन् ।
‘आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि हटाउनुहोस्, कि हट्नुहोस्,’ श्रेष्ठले भनिन् ।








