जेनजी आन्दोलनमा घुसपैठ गर्ने रास्वपाका नगर सभापति र इन्चार्जले दिए राजीनामा

काठमाडौं । पनौती नगरपालिकाभित्र भएको आगजनी र तोडफोड घटनामा संलग्नताको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन् ।

भदौ २४ गते पनौती नगर क्षेत्रका विभिन्न नेता तथा व्यवसायीका घरमा भएको आगजनीमा उनीहरूको संलग्नता पुष्टि हुने भिडिओ र फोटो सार्वजनिक भएपछि दुवैले गल्ती स्वीकार गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

उक्त दिन पनौतीका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईं, क्याप्टेन रामेश्वर थापा लगायतका घर तथा सम्पत्तिमा आगजनी गरिएको थियो । घटनामा संलग्न समूहलाई रास्वपाकै स्थानीय नेतृत्वले निर्देशन दिएको आरोप लाग्दै आएको थियो ।

स्थानीय स्रोतका अनुसार नगरमा भएको आगजनी र तोडफोडको कमाण्ड नै नगर सभापति भट्टराई र इन्चार्ज तिमल्सिनाले सम्हालेका थिए ।

भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गत कुप्स विद्यालयमा स्थायी शिक्षक समेत हुन् । विद्यालय प्रशासनले उनी स्थायी शिक्षक रहेको पुष्टि गरेको छ ।

इन्चार्ज तिमल्सिनाले आन्दोलनमा आफूहरूले उपस्थिति देखिने तरिकाले गल्ती भएको स्वीकार गर्दै अब पार्टीमा नरहने घोषणा गरेका छन् ।

‘सभापतिले नै राजीनामा दिएपछि मैले पनि पार्टी छाडेको छु । अब मेरो सात पुस्ताले राजनीति गर्दैन,’ उनले भने, ‘घटनापछि मलाई खोज्दै हिँड्नेहरूबाट ज्यानसमेत असुरक्षित महसुस भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =