१ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।

राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्नेछ । त्यस्तै ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्दैछ ।

उक्त रकम ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपका रूपमा राख्न सक्नेछन् । त्यसका लागि असोज ५ गतेदेखि २०८३ असोज ५ सम्मका लागि राष्ट्र बैंकले उक्त रकम मुद्दती खातामा राख्न चाहेको र मुद्दती राख्न चाहने बैंकलाई भदौ ३१ गते भित्रै प्रस्ताव पेस गर्न बैङ्कहरूलाई राष्ट्र भनेको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने सर्त तोकिएको छ । यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने सर्त राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको पैसा राख्ने बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउनुपर्नेछ । कोषको रकम लगानी गरी आर्जन हुने त्रैमासिक ब्याज बापतको रकम त्रयमास सकिएको भोलीपल्ट (कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन वा उक्त दिन बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन) तथा लगानी परिपक्व भएमा लगानी गरिएको सावाँ र बाँकी अवधिको व्याज रकम नेपाल राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको बैंकको वित्तीय संस्थाको खाता स्वतः खर्च गरी असुल गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार उक्त समयमा खातामा आवश्यक मौज्दात कायम रहेको हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =