खुले काठमाडौं महानगरका विद्यालय, पढाइ भोलिदेखि

काठमाडौं । देशमा केही दिनअघि सिर्जित असहज परिस्थितिका कारण बन्द भएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरू  सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयहरूलाई मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी गराएअनुसार, आज (आइतबार)देखि नै विद्यालय व्यवस्थापन र शिक्षकहरूलाई पठनपाठनका लागि आवश्यक तयारी थाल्न आग्रह गरिएको छ । यस क्रममा विद्यालयमा कुनै क्षति पुगेको भए त्यसको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र उनीहरूलाई ढुक्कसँग विद्यालय पठाउन सकिने वातावरण बनाउन सूचित गरिएको छ ।

महानगरपालिकाले विशेषगरी बालबालिकाको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रारम्भिक चरणमा मनोसामाजिक परामर्शलाई प्राथमिकता दिन आग्रह गरेको छ । विषम परिस्थितिबाट गुज्रिएका बालबालिकाहरूलाई सामान्य अवस्थामा फर्काउनका लागि यो कदम महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

यसका साथै, महानगरले अभिभावकहरूलाई अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । जुन विद्यार्थीका लागि अभिभावक विद्यालय आउन र जान असमर्थ हुन्छन्, उनीहरूका हकमा भने अनलाइन माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि महानगरले निर्देशन दिएको छ । 

गत भदौ २३ र २४ गते देशमा उत्पन्न असहज अवस्थाका कारण विद्यालयहरू बन्द भएका थिए । लामो समयको बन्दाबन्दीले बालबालिकाको सिकाइमा पारेको असरलाई न्यूनीकरण गर्न र उनीहरूलाई नियमित पठनपाठनमा फर्काउन महानगरपालिकाले यो कदम चालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =