सुशीला कार्की नेतृत्वको सरकारमा सुमना नजाने, भनिन्- सत्ता होइन, सेवा सोचौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नवगठित सरकारमा आफू सहभागी नहुने स्पष्ट पारेकी छन् ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा श्रेष्ठको उपस्थिति पछि कतिपयले उनलाई भावी मन्त्रीका रूपमा हेरेका थिए । तर, यी सबै अड्कलबाजीलाई चिर्दै नेतृ श्रेष्ठले फेसबुक लाइभमार्फत आफू सरकारमा नजाने बताएकी हुन् । उनले आफूप्रति भ्रम नराख्न आग्रह गर्दै भनिन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लागेकी छैन ।’
श्रेष्ठले पछिल्लो युवा विद्रोहलाई स्मरण गर्दै भावुक सन्देश दिएकी छन् । ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु,’ उनले भनिन् ।
उनका अनुसार युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो, र अब हामीले त्यही संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बेला आएको छ । ‘उहाँहरु (युवाहरु)को बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं,’ उनले थपिन् ।
नवनिर्वाचित प्रधानमन्त्री कार्कीको क्याबिनेटलाई शुभकामना दिँदै श्रेष्ठले सबैलाई सत्ताको मोह त्यागेर सेवामा लाग्न आह्वान गरिन् । ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ,’ उनले भनिन् ।
श्रेष्ठले युवा विद्रोहबाट प्राप्त यो ऐतिहासिक परिवर्तनलाई सफल बनाउन आफू पछाडि बसेर पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनैपर्छ,’ उनले भनिन्








