जनताले नचिनेको टीकाराम प्रधानमन्त्री नियुक्त : सूर्य थापा

काठमाडौं । सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विषयलाई लिएर नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले कार्कीको नियुक्तिलाई ‘असंवैधानिक र निषेधित काम’ को संज्ञा दिँदै यसलाई तत्काल बदर गर्न सर्वोच्च अदालत समक्ष माग गरेका छन् । संसद विघटन गर्दै ६ महिनाभित्र संसदीय निर्वाचन गराउने गरी कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गरेका हुन् ।

उनले संविधानको धारा १३२ (१) र (२) को अध्ययन गर्न आग्रह गर्दै उक्त नियुक्ति संविधान विपरीत भएको तर्क गरेका छन् । थापाले आफ्नो धारणा राख्दै भनेका छन्, ‘संविधानको धारा १३२ (१) र (२) पढौं, सिधै असंवैधानिक र निषेधित काम भएको छ। सर्वोच्च न्यायालयले बदर गर्नु अनिवार्य छ ।’ उनले थप टिप्पणी गर्दै, ‘संसद र जनताले नचिनेको टीकाराम प्रधानमन्त्री नियुक्त । बिहान उठ्दा नागरिक, राती नसुत्दै कृपामा प्रधानमन्त्री । तर प्रधानमन्त्री सरकारी पद नै हो ।’

थापाले मन्त्रिपरिषद्को सिफारिसबिनै प्रतिनिधिसभाको स्वेच्छाचारी विघटन गरेर राष्ट्रपति र ‘मनोनित प्रधानमन्त्री (अवैधानिक)’ दुवैले आफूलाई ‘जनताको सार्वभौम प्रतिनिधिसभाका हत्यारा’ को रूपमा उभ्याएको आरोप लगाएका छन् । उनले यस्ता कार्यलाई जनमतविरुद्धको विश्वासघाती, अनैतिक र छद्म कठपुतलीको संज्ञा दिँदै लोकतन्त्रका बैरीको रूपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =