रवि लामिछाने जेलबाट ननिस्केको भए आज श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेनजी आन्दोलनबाट जेलमुक्त भएको प्रक्रियालाई लिएर उठेका प्रश्नहरूबारे उपसभापति डीपी अर्यालले स्पष्टिकरण दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले सभापति लामिछाने कारागारबाट निस्कँदा आफू नै साक्षी रहेको दाबी गरेका छन् । उनले पत्र बुझ्ने, हस्ताक्षर गराउने र सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी पनि आफैंले निर्वाह गरेको उल्लेख गरेका छन् ।
‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन,’ उनले लेखेका छन्, ‘सभापतिज्युलाई जेलले नै निस्क भन्नुभएको हो, उहाँ भाग्नुभएको होइन ।’
अर्यालका अनुसार कारागार प्रशासन, सिडिओ र अन्य सुरक्षा निकायसँग समन्वय गरेर मात्रै लामिछानेलाई कारागारबाट निकालिएको हो । ‘१० मिनेट ढिलो भएको भए आज श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो,’ उनले भनेका छन् ।
पत्रमा मिति र विवरणसम्बन्धी केही त्रुटि देखिएको विषयमा उनले भने, ‘हतार र हतासमा विवरणहरू तलमाथि भएको हुनसक्छ, तर हामीले मिति सच्याएको होइन । सच्याइएको मितिमा हस्ताक्षर र छाप लगाइएको हो ।’
उनले रास्वपा सभापति लामिछानेमाथि अनावश्यक आरोप लगाइएको भन्दै प्रतिवाद गरेका छन् । ‘एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन,’ भन्दै उनले व्यक्तिको बदनामीमा लाग्नुभन्दा देशको जटिल अवस्थामा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।
अर्यालले सभापति लामिछाने अहिले पनि पूर्ण रूपमा सुरक्षा निकायसँग समन्वयमा रहेको र कुनैपनि बेला बोलाइएमा उपस्थिति जनाउने स्थितिमा रहेको उल्लेख गरेका छन् । ‘पार्टी सभापतिको सुरक्षा अहिले पनि मेरो लागि पहिलो प्राथमिकता हो,’ उनले भने ।








