सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई जेन–जीको माग अनुसार अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार कार्कीको शपथ ग्रहण समारोह आज राति ९ बजे राष्ट्रपति भवन, शीतल निवासमा तय गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुन् । न्यायपालिकामा लामो समयसम्म सेवा गरी चर्चा कमाएकी कार्कीलाई स्वतन्त्र, निडर र पारदर्शी न्यायाधीशका रूपमा चिनिन्छ ।

अनुभवी, निष्पक्ष र संविधानप्रति प्रतिबद्ध व्यक्तित्वको रूपमा परिचित कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई आगामी निर्वाचनसम्म मुलुकको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

सरकार गठनको प्रक्रिया र मन्त्रिपरिषद् चयनबारे भने विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =