विदेशी पर्यटक भन्छन्- ‘नेपालको परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनलाई समर्थन गर्यौँ’

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनले नेपालमा रहेका विदेशी पर्यटकहरूलाई समेत प्रभावित पारेको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन तथा मनोरञ्जनका लागि नेपाल आएका पर्यटकहरूले हालको परिस्थितिले आफूहरू प्रभावित भएको अनुभव सुनाएका छन् ।
जेन जी आन्दोलनको कारण आफूहरूको कार्यसूची प्रभावित भएको अनुभव सुनाए । यद्यपि मुलुकको परिवर्तनको लागि युवाहरूले गरेको आन्दोलनमा आफूहरूको मौन समर्थन रहेको उनीहरूको भनाइ छ ।
इन्टर्नसिपका लागि दुई साताअघि नेपाल आएका एक पर्यटकले भने ‘हामी शान्त रूपमा घरमै बसेर आन्दोलनलाई समर्थन गरिरहेका छौँ । यस्ता आन्दोलनहरू यत्तिकै हुँदैनन्, यसको पछाडि गहिरो कारण हुन्छ । हिंसात्मक रूप भने पीडादायी लाग्यो, तर म नेपाली जनताको उज्यालो भविष्यमा विश्वास गर्छु ।’
एक अर्का पर्यटकले नेपालमा जिम्मेवार नेतृत्व आउने संकेत जेन जी आन्दोलनले दिएको बताए । उनले कर्फ्यु र निषेधाज्ञाका कारण आफूहरूलाई यात्रा गर्न कठिन भइरहेको पनि बताए । आन्दोलनका क्रममा ठुलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उनले नेपालले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे ।
उनले भने ‘मैले अहिलेको परिस्थितिलाई निकै नजिकबाट पछ्याइरहेको छु । यहाँ सेनाको प्रतिक्रियाबारे मैले मेरा साथीहरूबाट सुनेअनुसार सेनाले यो निर्णय गरेको छ कि नेपालमा मार्सल कानुनको कुनै ऐतिहासिक उदाहरण छैन । सेनाले सत्ताको जिम्मा लिन चाहँदैनन् । मलाई लाग्छ, यो एउटा बलियो संकेत हो कि सेनाको नेतृत्व निकै जिम्मेवार व्यक्तिहरूको हातमा छ । म स्पष्ट रूपमा आशा गर्छु कि यो परिस्थिति चाँडोभन्दा चाँडो समाधान होस् । यसमा धेरै मानिसले ज्यान गुमाइसकेका छन्, ठुलो मात्रामा मूल्यवान् संरचनाको विनाश भइसकेको छ । म नेपालबाट होइन, तर यो अवस्था मेरो लागि निकै गाह्रो भएको छ । मेरो आशा छ कि जनताको पक्षमा हुने, उचित र दीर्घकालीन समाधान छिट्टै आओस् ताकि अब अरू कोही मानिसले ज्यान गुमाउनु नपरोस् र अब थप विनाश नहोस् ।’
पर्यटकहरूले आन्दोलन दीर्घकालीन र जनपक्षीय समाधानतर्फ जानुपर्नेमा जोड दिँदै, हिंसा रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।








