माओवादीको आरोप- अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण भौतिक संरचना र दस्ताबेज नष्ट भए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्ताबेज नष्ट भएको आरोप लगाएको छ ।

शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको बताइएको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको र जेन जीको हिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिने उल्लेख छ ।

आन्दोलनभित्र घुसेर प्रतिगामी तत्त्वहरूले तोडफोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरिएको आरोप लगाइएको छ । संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटिहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताइएको छ ।

संघीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरिएको छ । नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुने र ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानुन बनाएर इमानदारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि लैजानु श्रेयस्कर हुने पनि बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ—‘जेन जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफ्नो जीवन गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग पनि गर्दछौँ । नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको छ । जेन्जीको अहिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिन्छ । तर आन्दोलनभित्र घुसेर प्रतिगामी तत्त्वहरूले तोडफोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरेका छन्, गरिरहेका छन् । अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्ताबेज नष्ट हुन पुगेका छन् । यस्ता प्रतिगामी हर्कतहरूका विरुद्ध परिवर्तन र अग्रगमनका पक्षधर शक्तिहरूलाई एकजुट हुन समेत अपिल गर्दछौँ । संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटिहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिहरूको संरक्षण गर्नु सबैको दायित्व हुन्छ । ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधर सबैको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ । राष्ट्रपतिज्यूबाट भइरहेको पहल स्वागतयोग्य छ । संघीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ । आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प हो । नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुनेछ भने ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्नेछ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानुन बनाएर इमानदारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि लैजानु श्रेयस्कर हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =