प्रहरी कार्यालयहरूको पुनः निर्माण सुरु

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनमा खण्डहर भएका तथा क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनः निर्माण कार्य सुरु भएको छ ।

हातहतियारसहित कार्यालय तथा इकाई छोडेर गएका प्रहरीहरू जिम्मेवारीमा फर्किन थालेसँगै आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनः निर्माणको कार्य सुरु भएको हो ।

काठमाडौँको तीनकुने र कोटेश्वरका प्रहरी कार्यालयहरू पुनः निर्माणको काम शुक्रवार बिहानैदेखि थालिएको छ । आन्दोलनका क्रममा कार्यालय छोडेर सुरक्षित स्थानतर्फ गएका प्रहरीहरूलाई स्वागत गर्दै स्थानीय नै सुरक्षा निकायका संरचना पुनः निर्माण गर्न अग्रसर भएका छन् ।

काटेश्वर व्यवसायी प्रज्ञा प्रतिष्ठान, कोटेश्वर व्यवसायी संघ र कोटेश्वर बहुमुखी क्याम्पसलगायत संस्थाहरुले ‘हाम्रो प्रहरी प्रभाग हामी नै बनाउँछौँ’ भन्ने अभियानका साथ पुनः निर्माणको काम अघि बढाएको कोटेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सञ्जय बुढाथोकीले बताए ।

कोटेश्वरमा देशभरिकै नागरिक बस्ने भएकोले तथा आवश्यक सुरक्षा दिन नसक्दा चोरी डकैती बढेको उनको भनाइ छ । प्रहरीका क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि स्थानीय सरकार अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

यही २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा चार दर्जनबढी व्यक्तिको मृत्यु हुनुको साथै सिंहदरबारसहित राज्य संरचना ठुलो क्षति पुगेको छ । मृतकको शव व्यवस्थापनको कार्य समेत काठमाडौँ महानगरपालिकाले सुरु गरेको छ । यद्यपि भौतिक पूर्वाधारहरूको क्षतिको मूल्याङ्कन गर्न सुरु भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =