सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त अपिल: ‘विधिको शासनबाट बाहिर जान हुन्न’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान जटिल परिस्थिति संवैधानिक प्रक्रियाबाट समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै, हालैको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदको गहिरो दुःख व्यक्त गरेका छन् ।

‘आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं ।’

विज्ञप्तिमा आन्दोलनका क्रममा संसद भवनसहित सिंहदरबारभित्रका विभिन्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजमा भएको तोडफोड, आगजनी र क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘देशभर भएका घटनाले लोकतान्त्रिक मूल्य, सम्पत्ति र संस्थागत संरचनामा ठूलो क्षति पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनिहरुले यस्तो विपत्तिपूर्ण अवस्थामा पनि सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोच्च मान्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं ।’

वर्तमान जटिल अवस्थाको समाधानका लागि सबै पक्षलाई संविधानको दायराभित्र रही शान्तिपूर्ण ढंगले अघि बढ्न पनि सभामुख घिमिरे र अध्यक्ष दाहालले आग्रह गरेका छन् ।

‘आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =