पूर्वप्रधानमन्त्री भट्टराईद्वारा सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा समर्थन

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक अन्तरिम सरकार गठनको चर्चा चुलिएको बेला, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आफ्नो समर्थन व्यक्त गरेका छन् । जेनजी युवा पुस्ताद्वारा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा सिफारिस गरिनुलाई डा. भट्टराईले ‘अत्यन्त सकारात्मक र सही’ कदमका रूपमा व्याख्या गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले कार्कीप्रति आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेका हुन्। उनले अब संविधानको जगमा टेकेर, राष्ट्रपतिले कार्कीलाई विधिवत शपथ ग्रहण गराई अहिलेको राजनीतिक अन्योल र आशंकालाई जतिसक्दो चाँडो अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधिबारे संविधानविद् र जानकारहरूसँग सल्लाह लिन उपयुक्त हुने उनको भनाइ छ ।

डा. भट्टराईले अहिलेको सन्दर्भलाई २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको नजिरसँग तुलना नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो ।’

तर, वर्तमान संविधान निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान भएको र यसमा त्यस्तो कुनै प्रावधान नभएको डा. भट्टराईको तर्क छ । ‘यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ,’ उनले भनेका छन् । उनले अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान भएकाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =