जेनजीबाटै प्रधानमन्त्री बनोस् : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै प्रधानमन्त्रीको नेतृत्व पनि जेनजी पुस्ताबाटै आउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
फेसबुकमार्फत सार्वजनिक प्रतिक्रिया दिंदै चौधरीले देश हाँक्न जेनजीहरु सक्षम रहेको बताए । उनले लेखेका छन्, ‘तपाईंहरू देश हाँक्न सक्षम हुनुहुन्छ । आफैँ नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस् । जेनजीहरू मध्ये एक जना प्रधानमन्त्री भइहाल्नुस् । त्यसलाई संवैधानिक कसरी बनाउने काम राष्ट्रपतिको हो ।’
चौधरीले आन्दोलनले ल्याएको परिवर्तनको प्रशंसा गर्दै अहिले विभिन्न नेताहरूले दिइरहेको बुँदात्मक सुझावहरूप्रति कटाक्ष गरेका छन् ।
उनले विगतमा सत्ता र शक्तिमा रहेर यस्ता सुझावहरू कार्यान्वयन नगरेका नेताहरूलाई अब सुझाव दिने नैतिक अधिकार नरहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘धेरै नेताले बुँदात्मक सुझाव दिइराखेका छन्, ती बुँदा आफूले हिजो किन लागू नगरेका ?’ साथै, उनले पुराना नेता, पालिका प्रमुख वा प्रशासनिक कर्मचारीको सहारामा फेरि परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र हुने पनि जनाएका छन् ।
मंगलवार रेशम चौधरीको घरमा आगजनी भएको घटनाप्रति पनि उनले प्रतिक्रिया दिएका छन् । यद्यपि, व्यक्तिगत क्षतिको भन्दा ठूलो विषय राष्ट्रहित रहेको उनको भनाइ छ । ‘घर मेरो पनि जल्यो, घर जलेको बात पछि होला, पहिला राष्ट्रघात नहोस्,’ उनले लेखेका छन् ।








