सर्वपक्षीय सहमति बनाऔँ, मुलुकलाई अन्धकारबाट जोगाऔँ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले हालको राजनीतिक परिस्थितिबीच विद्यमान संविधानलाई नै आधार बनाई सर्वपक्षीय र सर्वदलीय सहमति निर्माण गर्न आह्वान गरेका छन् ।

जेनजी आन्दोलनपछि उत्पन्न घटनाक्रमको समीक्षा गर्दै खनालले मुलुकलाई नयाँ निकास दिन सबै पक्ष एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

विज्ञप्तिमार्फत नेता खनालले भनेका छन्, ‘मुलुकलाई नयाँ निकासतर्फ अघि लान सर्वदलीय र सर्वपक्षीय प्रयत्नलाई अघि बढाऔँ । मुलुकमा शान्ति कायम गरौं। सबै पक्षकाबीचमा भेटघाट र वार्ताको सुरुवात गरौं ।’

उनले मुलुकलाई संविधानविहीन अवस्थातर्फ धकेल्ने र देशलाई अँध्यारो सुरुङतर्फ लैजाने दुष्प्रयासबाट जोगाउन सचेत गराएका छन् । ‘विद्यमान संविधानलाई नै अघि बढ्ने आधार बनाऔँ,’ खनालले भनेका छन्,‘यही संविधानलाई आधार बनाएर सर्वपक्षीय र सर्वदलीय सहमति निर्माण गरौं। त्यही वार्तामा हाम्रो साझा नीति र कार्यक्रम निर्धारण गरौं ।’

उनका अनुसार त्यही साझा नीति र कार्यक्रमको आधारमा सर्वपक्षीय सरकार गठन गरी राष्ट्रको पुनस्र्थापना, पुनर्गठन र रूपान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको दिशातर्फ अघि बढाउन सकिन्छ ।

खनालले जेनजी आन्दोलनको सन्दर्भमा देखिएको उथलपुथलको बेलामा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको उल्लेख गर्दै त्यसको समुचित समीक्षा हुनुपर्ने बताएका छन् ।

‘अब आम जनता शान्ति चाहन्छन्, सिङ्गो देश शान्ति चाहन्छ र जेनजी पुस्ता पनि शान्ति नै चाहन्छन्,’ उनले भने, ‘शान्ति स्थापना गरेर मुलुकलाई पुनस्र्थापना र अग्रगमनतिर लानु नै अहिलेको तत्कालीन आवश्यकता र कार्यभार बनेको छ ।’

यस्तो अवस्थामा सबै पक्षलाई संयमित, शान्त र धैर्यशील बन्न पनि उनले आग्रह गरेका छन् । साथै, सम्पूर्ण विध्वंसक र हिंसात्मक गतिविधि तुरुन्त रोक्नुपर्ने स्पष्ट संकेत दिएका छन् ।

आन्दोलनको क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली प्रकट गर्दै खनालले गहिरो समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र र निःशुल्क उपचारको माग गर्दै उनले राज्यको जिम्मेवारी ठहर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =