जेनजी आन्दोलन दुरुपयोग नगरौँ, देश डिस्कोर्ड ग्रुपको मात्रै होइन : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेन–जी आन्दोलनको पछाडिबाट देशलाई अस्थिरता र अनिर्णयतर्फ धकेल्ने खेल भइरहेको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै राउतले आन्दोलनको भावना र आकांक्षालाई सबै नेपालीले अपनत्व लिन सक्ने खालको बनाउन आग्रह गरे ।

उनले भनेका छन्, ‘प्रिय जेनजी ! तपाईंहरूले देशको निकासको लागि गरिराखेको पहलको समयमा केही कुराहरू याद राख्नुपर्छ । देश केवल डिस्कोर्ड ग्रुपको होइन, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, सीमान्तकृत वर्गसम्म सबैको अधिकार, आत्मसम्मान र आकांक्षा समेट्न सक्ने खालको निर्णय हुनुपर्छ ।’

उनका अनुसार आन्दोलन शान्तिपूर्ण भए पनि पर्दा पछाडि त्यसको दुरुपयोग हुँदैछ, र यो क्रम रोकिएन भने मुलुक अर्को १० वर्षसम्म अनिर्णय र अस्थिरताको चक्रव्यूहमा फँस्न सक्ने खतरा छ ।

‘देशका महत्त्वपूर्ण अंगहरू जलेर खरानी भएका छन् । अब संविधान खारेज गर्ने र संसद भंग गरेर रिक्तता निम्त्याउने हो भने, त्यो देश नरहने या अरूको हातमा जाने पृष्ठभूमि बन्ने संकेत हो,’ उनले भनेका छन् ।

संविधान संशोधनको आवश्यकता स्वीकार गर्दै राउतले त्यसको प्रक्रिया निर्वाचनपछि, वैध जनप्रतिनिधिहरूमार्फत् हुनुपर्नेमा जोड दिए ।

‘अहिले संविधान चलाउने समय हो, बदल्ने होइन। संसद भंग गरेर रिक्तता ल्याउनु हुँदैन,’ राउतले स्पष्ट पारे । संघीय लोकतान्त्रिक गणतन्त्र दशकौंको आन्दोलन र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले त्यसको रक्षा गर्न सबै तयार रहनु पर्ने बताएका छन् ।

‘जतिसुकै दुष्प्रचार भए पनि संघीयता, लोकतन्त्र र गणतन्त्र जोगाउनु देशको अस्तित्व जोगाउनु हो’ राउतले भने, ‘यदि अहिले संविधान र संसद भंग गरियो भने अर्को १० वर्ष त्यसैमा अल्झाइन्छ, काम गर्न पिँध नै रहँदैन ।’

उनले हालको संसदलाई नै कायम राखेर अन्तरिम सरकार बनाउन सकिने उल्लेख गर्दै, निर्वाचन ६ महिनाभित्र गराउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘हामीले त्यहाँबाट राजीनामा दिइसके पनि, अहिलेको संसदलाई कायम राखेर निर्वाचन गराउनु उपयुक्त हुन्छ । रिक्तता सिर्जना नगरौं,’ राउतले भने ।

उनले आन्दोलनरत जेन–जी पुस्तालाई आवेगमा नआइ संयमता अपनाउन र देशको भविष्यसँग खेलवाड नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =