संकटको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्छ : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा देखिएको वर्तमान संकटको समाधान संवैधानिक दायराभित्रै खोजिनुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, विकास र आवाजविहीनहरूको आवाजको सम्बोधन संविधान र लोकतन्त्रबाटै सम्भव हुने स्पष्ट पारेका हुन् ।

विष्टले लेखेका छन्, ‘जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्छ ।’

उनका अनुसार भ्रष्टाचारको अन्त्य र समृद्धिको चाहना राख्ने जेन–जी आन्दोलनमा सहभागी युवाहरूले पनि संविधान र लोकतन्त्रप्रति आस्था राख्न जरुरी छ ।

विष्टले एमालेले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्ने प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘तर यति बेलाको संकटको समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्ने जेन–जी पुस्ताका मित्रहरू, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण दाजुभाई दिदीबहिनी एकताबद्ध भई सजगताका साथ भूमिका निर्वाह गरौं । संकटबाट मुलुकलाई जोगाऔं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =