सुरक्षा अपडेटः भाटभटेनी लुटपाट गर्ने चारजना पक्राउ

काठमाडौं । देशभर सुरक्षा निकायहरूको विशेष सुरक्षा योजना लागू गर्दै विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
नेपाली सेना र अन्य सुरक्षा निकायहरूका सक्रियता पछि महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।
आज विहान १० बजे देखि दिउँसो १ बजेसम्मको अवधिमा भएको उक्त घटनामा सुरक्षा फौजले त्वरित कारवाही गर्दै लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
साथै, डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधि देखाएका व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात् आफ्नो गतिविधि स्थगित गर्दै फरार भएका छन् । यस कारवाहीमा नेपाली रुपैयाँ २,३२,५०० र अमेरिकी डलर २५०० को लुटपाटको रकम बरामद गरिएको छ ।
सुरक्षाकर्मीबाट लुटिएका थप हतियारहरूको समेत पुष्टि भएको छ । हालसम्म ३२ नाल हतियार बरामद गरिएको छ, जसमा १ नाल बन्दूक पनि समावेश छ ।
डडेलधुरा जिल्ला कारागारबाट भागेका २६ जना कैदीलाई पुनः नियन्त्रणमा लिइएको छ । साथै, काठमाडौंको डिल्लीबजार स्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई समयमै रोकिएको सुरक्षा निकायहरूले जानकारी दिएका छन् ।
सुरक्षाकर्मीहरूको सक्रियता र संयमले विभिन्न अपराधी र आपराधिक गतिविधिहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । सुरक्षा विभागले थप निगरानी र अभियान जारी राख्ने जनाएको छ ।








