जनताको सेवामा सतिसालझैं अडिग रहनेछौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले हालैको राजनीतिक घटनाक्रमपछि पार्टी कार्यकर्ता र जनसमुदायलाई धैर्य र संयमताका साथ अघि बढ्न आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर बालुवाटारबाट बाहिरिएपछि बुधबार बस्नेतले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश जारी गर्दै पार्टी पुनः सशक्त रूपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बस्नेतले साहित्यकार नेत्रलाल अभागीको भनाइ उद्धृत गर्दै, ‘आँधी र हुरी नचलेको बेला कायरले पनि बहादुरीका कुरा गर्छ, तर आँधी-हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्ने, सतिसाल मात्र हुन्छ’ भन्दै विषम परिस्थितिमा विचलित नभई डटेर सामना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीका आमाबुबा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण साथीहरूलाई धैर्य धारण गर्न र संयमित बन्न आग्रह गरेका छन् ।

पूर्वमन्त्री बस्नेतले सुरक्षा निकायको निर्देशन पालना गर्न र एकअर्कामा हातेमालो गर्दै समस्यामा परेका साथीहरूलाई नछोड्न आग्रह गरेका छन् । उनले निजी वा सार्वजनिक सम्पत्ति जल्न नदिन, लुटपाट र तोडफोडमा संलग्न नहुन र जनजीवनलाई फेरि सही बाटोमा ल्याउन सबैलाई आह्वान गरेका छन् ।

‘घर जलाइयो, सम्पत्ति नष्ट गरियो । तर हाम्रो आत्मा, हाम्रो जनताप्रतिको समर्पण आगोले जलाउन सक्दैन,’ बस्नेतले थपेका छन्, ‘साथीहरू, आँधीपछि आकाश अझ नीलो हुन्छ। आज हामी पीडामा छौँ, तर भोलि हामी सतिसालझैँ अडिग भएर उठ्नेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =