जेनजी आन्दोलनको कब्जामा सिंहदरबार

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी आन्दोलनकारीहरूले मंगलबार बेलुकासम्म पूर्णरूपमा नियन्त्रणमा लिएका छन् ।
आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेट तोडेपछि भित्र पसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको व्यापक र उग्र उपस्थितिपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेत पछाडि हटेको पुष्टि भएको छ ।
अहिले सिंहदरबार परिसरभित्र सयौं युवा नाराबाजीसहित विरोधमा उत्रिएका छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र अन्य शीर्ष नेताहरूविरुद्ध कडा नाराबाजी गरिरहेका छन् ।
आकाशमा बाक्लो धुवाँ र आगोको मुस्लो उडिरहेको दृश्य देखिएको छ । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायतका संरचनामा गम्भीर आगजनी र तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।








