विद्यादेवी भण्डारीको निवासमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौँ । देशभर चर्किरहेको जेनजी आन्दोलन थप उग्र बन्दै जाँदा पूर्वराष्ट्रपतिसमेत आन्दोलनको प्रत्यक्ष निशानामा परेकी छन् ।
मंगलबार दिउँसो आन्दोलनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निजी निवासमा आगजनी गरेका छन् ।
पूर्वराष्ट्रपतिको स्वकीय सचिव राजकुमार राईका अनुसार, प्रदर्शनकारीको समूह घरभित्रै पसेर तोडफोडपश्चात आगजनीमा उत्रिएको थियो ।
‘पूर्वराष्ट्रपतिको निवासमा आगजनी भएको छ,’ राईले भने, ‘उहाँलाई सुरक्षित स्थानमा लगिएको छ । तर प्रदर्शनकारीहरू अझै निवास वरिपरि छन् ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको घोषणा गरे पनि देशभरि फैलिएको जनआन्दोलनको ज्वाला शान्त हुन सकेको छैन ।
काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भइरहेका छन् भने सार्वजनिक र निजी संरचनामा तोडफोड तथा आगजनीका घटना निरन्तर भइरहेका छन् ।








