जेनजी प्रदर्शनकारीले जलाए प्रधानमन्त्री ओलीको घर

काठमाडौं । जेनजी आन्दोलन चुलिंदै जाँदा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरू ओली निवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरे पनि भीड नियन्त्रण बाहिर गएका कारण उनीहरूले घर परिसरमै तोडफोड गरेपछि आगजनी गरेका हुन् ।
घटनाका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजे पनि प्रदर्शनकारीहरूको आक्रोश रोक्न सकिएको छैन ।
बालकोटमा आगजनीपछि देशभरका अन्य भागहरूमा समेत आक्रमणको श्रृङ्खला तीव्र बनेको देखिन्छ ।
प्रदर्शनकारीहरूले काठमाडौं, पोखरा, झापा, र धनगढीलगायतका स्थानमा सरकारी र नेताहरूका निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।
जेनजी पुस्ताले भ्रष्टाचार, सत्ताधारीहरूको जीवनशैली, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका मुद्दा उठाउँदै आन्दोलन चर्काइरहेका छन् ।








