भारतले भन्यो- नेपालका पछिल्ला घटनाक्रमलाई नजिकबाट नियाल्दैछौं, संयमता अपनाउनू

काठमाडौं । नेपालमा हालै विकसित भएका घटनाक्रमलाई भारतले गम्भीरतापूर्वक नियालिरहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो । 

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं ।’

भारतले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेपालसँगको सुमधुर मित्रता र छिमेकीको नातालाई जोड दिँदै भारतले सबै पक्षलाई संयमता अपनाउन र समस्याहरूको समाधान शान्तिपूर्ण संवादमार्फत खोज्न आग्रह गरेको छ ।

विज्ञप्तिमा काठमाडौंसहित अन्य शहरहरूमा लगाइएको कर्फ्यू आदेशको पनि उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकहरूलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरूको पालना गर्न भनिएको छ ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरी दमनका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =