आफू पक्षीय मन्त्रीलाई चीनबाट शेखरको फोन- ‘तत्काल राजीनामा दिनू’

काठमाडौं । एक दिनको जेनजी प्रदर्शनले नेपाली राजनीति तरंगीत भएको छ । चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नातर्फका मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । जेन-जी आन्दोलनमा भएको प्रहरी दमनमा १९ युवाको ज्यान गएपछि सरकार चौतर्फी आलोचित बनिरहेका बेला कोइरालाको यो कदमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थप संकटमा पर्ने आकलन गरिएको छ ।

शेखर कोइराला समूहबाट सरकारमा रहेका कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिने तयारीमा रहेको पुष्टि गरे । ‘म राजीनामा दिने तयारीमा छु, अरू साथीहरूसँग सल्लाह गर्दै छु,’ उनले भने, ‘कर्फ्यु लागेकोले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ ।’ 

जेन-जीको विरोध प्रदर्शनमा प्रहरीले बर्बर दमन गरी १९ जना युवाको ज्यान लिएको घटनापछि सरकारको चर्को आलोचना भइरहेको छ । यस घटनाको नैतिक जिम्मेवारी लिँदै कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् । चीनबाटै डा. कोइरालाले फोनमार्फत राजीनामा दिन निर्देशन दिएको उनले जानकारी दिए ।

शेखर समूहबाट सरकारमा कृषिमन्त्री रामनाथ अधिकारीका साथै बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री रहेका छन् । डा. कोइरालाको निर्देशनपछि यी मन्त्रीहरूले पनि राजीनामा दिने निश्चितप्रायः भएको छ । 

सत्ता साझेदार दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन् । तर, यसप्रति प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै चासो देखाएका छैन । यता, जेन-जीले भने आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहेको छ । आज पनि युवाहरूले बानेश्वरमा बिहानैदेखि विरोध प्रदर्शन सुरु गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =