अशान्त बन्दै काठमाडौं : गोकर्णेश्वरका युवाहरू पनि सडकमा (तस्बिरहरू)

काठमाडौं । राजधानी काठमाडौंमा फैलिएको जनआक्रोशको राप गोकर्णेश्वर नगरपालिकामा पनि देखिएको छ । मंगलबार बिहानैदेखि गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ लगायतका क्षेत्रमा स्थानीय युवाहरूले टायर बालेर सडक अवरुद्ध गर्दै सरकारविरुद्ध सशक्त प्रदर्शन सुरु गरेका छन् ।
सोमबार राजधानीमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि देशव्यापी रूपमा फैलिएको जनआक्रोश गोकर्णेश्वरका सडकहरूमा पनि पोखिएको हो । स्थानीय युवाहरूले सडकमा उत्रिएर सरकारको रवैयाप्रति घोर आपत्ति जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
युवाहरूले देशमा व्याप्त भ्रष्टाचार, कुशासन, नेता तथा उनीहरूका सन्तानको विलासी जीवनशैली र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आएका छन् । सोमबारको प्रदर्शनमा भएको बर्बर दमनले युवाहरूमा थप रोष पैदा गरेको छ, जसको परिणाम स्वरूप गोकर्णेश्वरमा पनि स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन् ।
बिहानैदेखि सडक अवरुद्ध हुँदा गोकर्णेश्वर क्षेत्रमा जनजीवन प्रभावित भएको छ । थप प्रदर्शनहरू रोक्न देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाइए पनि जनआक्रोश भने मत्थर हुने संकेत देखिएको छैन ।









