आजबाट सरकारको औचित्य समाप्त भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

सरकारको आदेशमा किताब कापी बोकेका निर्दोष विद्यार्थीमाथि गोली प्रहार भएको भन्दै उनले वर्तमान सरकारको नैतिक औचित्य समाप्त भइसकेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत डा.कोइरालाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त कदमलाई ’निरंकुश र क्रुर’ भन्दै भत्र्सना गरेका छन् । ‘जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने सरकारले बर्बरतापूर्वक गोली चलाएको छ’, उनले लेखेका छन् ।

कोइरालाले गोली लागेर मृत्यु भएका विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै त्यसले राष्ट्रले बेहोरेको क्षतिलाई मल्हम लगाउन नसक्ने उल्लेख गरेका छन् । ‘सरकारले गरेका हत्याले मलाई मर्माहत बनाएको छ’, उनले भनेका छन्, ‘म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’

आन्दोलन दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लोकतन्त्र विरोधी कदम भएको कोइरालाको आरोप छ । ‘आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरु के होला र ?’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले आन्दोलनरत विद्यार्थीका मागहरूलाई ‘समय सापेक्ष र जायज’ भन्दै समर्थन जनाएका छन् । देशका हरेक समस्याको विधिसम्मत समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन् ।

वर्तमान सरकार जनताको भावना बुझ्न असफल भएको भन्दै डा. कोइरालाले यसको औचित्य समाप्त भइसकेको घोषणा गरेका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =