भ्रष्टाचारविरुद्ध जेन-जीको प्रदर्शन

माइतीघरमा प्रहरीको घेरा, उपत्यकाभर ‘हाई अलर्ट’

काठमाडौँ । भ्रष्टाचारविरुद्ध युवाहरूको सशक्त आवाज बनेको ‘जेनजी’ समूहले आज काठमाडौँको माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित भीडभाड र प्रदर्शनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति अख्तियार गरेको छ ।

प्रदर्शनको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले सम्हाल्नेछन् । उनको नेतृत्वमा ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोलीले माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थापन गर्नेछ। यसले सुरक्षा परिचालनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रदर्शनमा कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी मात्र नभई अन्य सुरक्षा निकायहरू पनि परिचालन गरिएका छन् । सशस्त्र प्रहरी बलका एसपी जीवन केसीले सशस्त्र प्रहरी फौजको नेतृत्व गर्नेछन् । यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरूलाई पनि सूक्ष्म निगरानी र सूचना संकलनका लागि परिचालन गरिएको छ ।

प्रहरीले प्रदर्शनको स्वरूप र भीडको अवस्था हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ । आवश्यकता अनुसार थप सुरक्षाकर्मी परिचालन गर्न सकिने गरी तयारी गरिएको छ । सुरक्षा संवेदनशीलताका कारण परिचालित हुने सुरक्षाकर्मीको यकिन संख्या सार्वजनिक नगरिए पनि, काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने अनुमान गरिएको छ । विशेषगरी, माइतीघर मण्डला क्षेत्रमा मात्रै करिब ५ सय प्रहरी खटाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =