‘जेनजी’को आन्दोलनलाई हरिवंशको समर्थन

अब उमेर पुगेकाले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु उत्तम : हरिवंश आचार्य

काठमाडौं । देशमा व्याप्त अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका युवा पुस्ता ‘जेनजी’लाई वरिष्ठ कलाकार हरिवंश आचार्यले खुल्ला समर्थन जनाएका छन् । उनले अब उमेर पुगेका नेतृत्वकर्ताहरूले युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घर अगाडिको पीच गरेको सडक केही दिनमै भत्किएको तस्बिर सार्वजनिक गर्दै आचार्यले अहिलेको अव्यवस्थाको ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् । आचार्यले यो घटना एउटा सानो उदाहरण मात्र भएको उल्लेख गर्दै ‘जेनजी’ले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभई व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीहरूको कार्यशैलीमाथिको प्रश्न भएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिएँ यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिँड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका ।’

आचार्यले अहिलेको आवाज कुनै व्यवस्थाको विरोधमा नभई, व्यवस्था सञ्चालन गरिरहेका सबै दलका नेता र कर्मचारीहरूको कार्यसम्पादनमाथिको प्रश्न भएको बताएका छन् । उनले जनताले वर्तमान नेतृत्वबाट धेरै आशा गरेको र अब उमेर पुगेकाले आफ्नो कार्यक्षमता सुधार गर्नुपर्ने तथा उमेरले परिपक्व भएकाले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =