मेलबर्नमा कार दुर्घटना: कंगारुलाई बचाउने क्रममा दुई नेपाली नर्सको निधन

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा ह्युम फ्रीवेमाथि कंगारुलाई बचाउने क्रममा दुई नेपाली नर्सको मृत्यु भएको छ । १४ वर्षभन्दा लामो समयदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन् ।

मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत सरला र अरिजा, अरिजाको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परेका थिए । भिक्टोरिया प्रहरीका अनुसार उनीहरूले चलाइरहेको कार सुरुमा एउटा कंगारुसँग ठोक्किएको थियो । उनीहरूले घाइते कंगारुलाई सहयोग गर्ने उद्देश्यले गाडी रोकी सडकमा ओर्लिएका थिए । तर, अध्याँरो र खराब मौसमका कारण पछाडिबाट तीव्र गतिमा आएको अर्को कार चिप्लिएर उनीहरूमाथि ठक्कर दिँदा यो दुर्घटना हुन पुगेकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थल क्रेगीबर्नमा बेभरिज निवासी ३० वर्षीया सरला खड्काको तत्कालै निधन भयो । थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको पनि निधन भएको हो । दुर्घटना गराउने कारका चालकले भने घटनास्थलमै रोकिएर प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका छन् ।

घटना हुनु केही घण्टा अघि मात्रै सरलाले फेसबुकमा अरिजासँगको १४ वर्ष लामो मित्रता र उनको जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन् । उनले अरिजालाई ‘दिदीसरहको साथी’ र ‘जीवनभरको गोप्य साझेदार’ भन्दै हार्दिकतापूर्ण सन्देश लेखेकी थिइन्:

‘साथी भनौं कि दिदी, किनकि तिमी त मलाई साथीभन्दा बढी दिदीजस्तै लाग्छौ। तिमी नै हो जससँग म आफ्ना साना-ठूला नखरा देखाउन सक्छु, अनन्त वादविवाद गर्न सक्छु, बच्चाजस्तै झगडा गर्न सक्छु र अझैपनि कुनै कुरा भन्नुअघि दुईचोटि सोच्नुपर्दैन, किनकि मलाई भन्दा राम्रो कसैले बुझ्दैन । १४ वर्ष भयो होला हाम्रो यो पागलपनको यात्रा? तर के थाहा छ भने, यी सबै वर्षहरूमा तिमी मेरो स्थायी साथीयौ- मेरो पार्टनर इन क्राइम, मेरो सुरक्षित ठाउँ, मेरो यथार्थ चेक गर्ने साथी, र मेरो सधैंभरि गफ गर्ने पार्टनर । पेट दुख्दासम्म हाँस्ने क्षणदेखि आँसुमा एकअर्कालाई सान्त्वना दिने क्षणसम्म हामीले सबै देख्यौं… अनि अझै पनि हामी सँगै छौं, अझ बलियो भएर ।

अब तिमी केही वर्ष थप्दैछ्यौ (चिन्ता नगर, म यहाँ ठ्याक्कै उमेर खुलाउँदिन), तर मेरो शुभकामना छ- तिमीले मनमा बोकेका प्रत्येक सपना र अपेक्षा यसै वर्ष पुरा होस्। तिमी यसभन्दा कमको योग्य छैनौ । मसँग रहनुका लागि, मेरो दिदीसरह साथी बन्नुका लागि, हाँसो र आँसुसँगै बाँड्नुभएकोका लागि धन्यवाद । जन्मदिनको धेरै धेरै शुभकामना, म तिमीलाई अनन्तसम्म माया गर्छु । हो, म तिमीलाई भोलिपनि त्यत्तिकै सताउनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =