इच्छाशक्ति हुँदा समयमै निर्माण हुन्छ भन्नेकुरा टियु क्रिकेट स्टेडियमले देखाएको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इच्छाशक्ति हुँदा पूर्वाधार निर्माण समयमा नै बनाउन सकिन्छ उदाहरण निर्माणाधीन टियु क्रिकेट स्टेडियमले देखाएको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा निर्माणाधीन टियु क्रिकेट स्टेडियमको अनुगमनमा आईतवार शहरी विकासमन्त्री सिंह पुगेका थिए ।
सो अवसरमा मन्त्री सिंहले इच्छाशक्ति हुँदा समयमा नै सुविधासम्पन्न स्टेडियम बन्न सकिने रहेछ भन्ने निर्माणाधीन टियु क्रिकेट स्टेडियमले देखाएका बताए ।
उनले टियु क्रिकेट स्टेडियम समयसीमाभित्र सम्पन्न नभए पनि काम सहज रूपमा अगाडि बढिरहेको बताए । उनले लक्ष्यअनुरूप पूरा नभए पनि इच्छाशक्ति हुँदा छिटै पूर्वाधार निर्माण गर्न सकिने औंल्याए ।
टियु स्टेडियम निर्माणका लागि आवश्यक सामाग्री सबै विदेशबाट ल्याउनुपर्ने हुँदा ग्लोबल टेन्डर प्रक्रियाले काममा ढिलाइ भएको उनले उल्लेख गरे ।
सधैं विदेशमा गएर मात्र खेल्नेभन्दा पनि विदेशी टोलीलाई पनि नेपालमा ल्याउने उद्देश्यअनुरूप यो स्टेडियम बनाइएको उल्लेख गरे । त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुविधासम्पन्न क्रिकेट स्टेडियम बन्ने मन्त्री सिंहको विश्वास छ ।
फ्लड लाइटमा प्रयोग हुने लाइट इटालीबाट झिकाइएको मन्त्री सिंहले बताए । उनले निर्माण सम्पन्न भएपछि सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्ड भएको क्रिकेट स्टेडियममा बन्ने बताए ।
नेपालमा क्रिकेटप्रति बढ्दो क्रेजका कारण सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माण गरिएको मन्त्री सिंहको भनाइ छ ।
उनकाअनुसार पहिलो चरणमा १० हजार क्षमताको छ स्टेडियम बन्नेछ । अर्को आर्थिक वर्षमा १५ हजार सिट थप्ने सिंहले उल्लेख गरे ।
उनले दोस्रो चरणमा कुल २५ हजार समर्थक अट्ने स्टेडियममा, कमेन्टेटर बक्स, चेन्जिङ रुम र प्रेस बक्सलगायत आवश्यक पक्ष निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बन्ने विश्वास व्यक्त गरे ।
मन्त्री सिंहले सम्झौताअनुरूप समयमा नै निर्माण नसक्दा जरिवानामा लगाइए पनि सहज रूपमा निर्माण प्रक्रिया जारी रहेको बताए । उनले लक्ष्यअनुरूप निर्माण सम्पन्न नभए पनि धेरै ढिला गरी काम नभएको उल्लेख गरे ।
निर्माण सम्पन्न भएपछि सम्झौतामा भएअनुसार गुणस्तर मापन गरेर मात्र लिने उनको भनाइ छ । उनले त्रिभूवन विश्वविद्यालय (टियु) मा अध्ययनरत विद्यार्थीहरूलाई डिस्टर्ब नहुने गरी रंगशाला निर्माण हुने बताए । टियुका भिसी र सरकारबीच छलफलपछि यो स्टेडियम निर्माण प्रक्रिया अगाडि बढाइएको उनि बताउँछन् ।








