एमाले दोस्रो विधान महाधिवेशनमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । नेकपा एमालेको दोस्रो महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
आईतवार ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रश्तुत विधान संशोधनसम्बन्धी प्रश्ताव, पार्टी महासचिवद्वारा प्रश्तुत संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनकाअनुसार राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेपालको स्वाभिमान कुनै देशको नाकाबन्दी नसहने, आफ्नो राष्ट्रलाई हेपेको सहन नसकिने, देशलाई होच्याउने र स्वाभिमानलाई हेप्न नखोज्न अपिल गरेका छन् ।
कविता, छन्द, गुटबन्दी, सीमाना नभएको भन्दै निरीह र क्षणिक स्वार्थको प्रभावमा परेर कुनै राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिन नसकिने ओलीको भनाइ छ ।
जेनजी पुस्ता देशभक्त रहेको, देशलाई माया गर्ने र कानूनी राज्यको पक्षमा उभिएर कसैको उक्साहटमा नआइकन कानूनी राज्यको पालना गर्नेकुरामा विश्वास व्यक्त गरेको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
सामाजिक सञ्जालका बारेमा पनि अध्यक्ष ओलीले आफूहरुले बन्द गर्न नचाहँदा पनि दर्ता हुन नआएपछि करको दायरामा ल्याउन र नेपालको कानून बमोजिम प्रक्रियामा ल्याउन खोजेको बताए ।
जनताको बहुदलीय जनवाद एमालेले नछोडेको बताउँदै एमालेको पथप्रदर्शन सिद्धान्त नै जबज भएको जिकिर गर्नुभएको जानकारी दिए ।
महाधिवेशनबाट २९ वटा समसामयिक प्रश्ताव पारित भएको बताउनु भयो । पार्टीले २५ सदस्यीय केन्द्रिय निर्वाचन आयोगको गठन गरेको छ । निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा अध्यक्ष रहेका छन् ।








