एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौं : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् ।
पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए । ‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ । त्यसपछि जबज छोडयो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरुमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौं । जबजको विचार, सिद्धान्त समृद्ध बनाउने क्रममा मदन भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो’ उनले भने ।
केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गर्नुभएको उनले बताए ।
उनले भने– ‘केपी ओली त्यो बेलादेखि यो विचार समृद्ध गर्नका निम्ति अगुवाई र नेतृत्व गरेर आईरहनु भएको छ । र, कार्यनीति केपीले नै लेख्नु भएको हो । त्यो पारित भएको छ । जननेता मदन भण्डारीले पार्टीको निर्माणमा आधारभूत प्रस्तावनाहरु उल्लेख गरेर जानु भएको छ । त्यसैको जगमा, त्यसैको आलोकमा यो पार्टी अगाडि बढिराखेको छ । जबज अनुकूलको पार्टी निर्माणबारे हामीले लोकतान्त्रिक विधिलाई अगाडि बढाईरहेका छौं’
प्रचार विभाग प्रमुख गौतमकाअनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहो¥याएका थिए ।








