मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय

काठमाडौं । सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।
आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छाँै । फेरि मनाङको विषयमा दल दर्ता गर्नेकुरा हो,’ उनले भनिन् ।
केन्द्रिय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको बताइन् । साथै बैठकमा समसामयिक विषयहरुमा पनि छलफल भएको बताइन् ।
उनले भनिन्– ‘केन्द्रिय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’
सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने जानकारी दिइन् । समाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु नहुनेमा जोड दिइएको बताइन् ।








