नेपालको निजामती सेवा शासन प्रणालीको मेरुदण्ड बनिसक्यो : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले नेपालको निजामती सेवा मुलुकको शासन प्रणालीको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यसचिव अर्यालले निजामती सेवा दिवसले कर्मचारीलाई व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासनका साथै नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाएको बताए । सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा निजामती संयन्त्रको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

अर्यालले कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामती प्रशासन सक्षम र सजग रहेको प्रस्ट पारे । उनले अड्डा र कागजमुखी प्रणालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामती सेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समेत उल्लेख गरे ।

उनले भने, ‘आज हामी ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ २२औँ निजामती सेवा दिवस मनाइरहेका छौँ । आजको यस दिवसले हामी सबै निजामती कर्मचारीहरूलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व, समर्पणभावलाई गहिरोसँग सम्झाइरहेको छ । नेपालको निजामती सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहिचानसहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो अविछिन्न स्थायी संयन्त्रका रूपमा आफूलाई स्थापित गरेको छ ।’

मुख्यसचिव अर्यालले मुलुकको शासन प्रणालीको मेरुदण्ड र सार्वजनिक प्रशासनको मियोका रूपमा रहेको नेपालको निजामती सेवा सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन, विकासलगायत सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा समर्पित हुँदै आइरहेको समेत बताए। उनले मुलुकमा कठिन परिस्थिति आएका बखत पनि जस्तोसुकै चुनौती झेल्नका निम्ति नेपालको निजामती प्रशासन सक्षम छ भन्ने कुरा विगतमा यसले खेलेको भूमिकाले पुष्टि गरिसकेको उल्लेख गरे ।

पछिल्लो समय ढड्डा र अड्डामुखी सेवाबाट आधुनिक सूचना प्रविधिको उपयोग गर्दै कागज एवं मुहाररहित सेवा प्रवाहलाई क्रमशः डिजिटलाइजेसन युगमा प्रवेश गराउन समेत निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उनले मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरूमा समेत निजामती कर्मचारीको उल्लेख्य भूमिका रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =