एमालेको विधान महाधिवेशन : नयाँ संकल्पका साथ आज समापनको तयारी

काठमाडौं । ललितपुरको गोदावरीमा तीन दिनदेखि जारी नेकपा एमालेको प्रथम विधान महाधिवेशन समापनको तयारी गरिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प’ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शुक्रबारबाट सुरु भएको यस महाधिवेशनले पार्टीको भावी दिशा तय गर्नेछ ।
महाधिवेशनअन्तर्गत आज विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आफ्ना निष्कर्ष र सुझावहरू प्रस्तुत गर्नेछन् । यी सुझावहरूमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रस्ताव पेस गरेका थिए । यी प्रतिवेदनहरूमाथि गहन छलफलका लागि १० वटा समूह गठन गरिएको थियो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको छ । यस महाधिवेशनमा देशभरका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा थप तीन सय १५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
यो महाधिवेशनले पार्टीको राजनीतिक दिशा स्पष्ट पार्दै समसामयिक प्रस्तावहरू पारित गर्नेछ । यसले नेकपा एमालेलाई थप सुदृढ र संगठित बनाउनुका साथै आगामी राजनीतिक यात्राका लागि नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।








