मधेशी, थारु, आदिवासी जनजातिका लागि मोर्चाबन्दीको विकल्प छैन : राजेन्द्र महतो

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति र मधेशीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताएका छन् । उनले संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै यस्तो बताएका हुन् ।
महतोले काँग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाए। सोही विभाजनका कारण अहिले मधेशी, थारु र आदिवासी जनजातिहरू राज्यविहीनको अवस्थामा रहेको उनको आरोप छ । २०७२ मा संविधान जारी हुँदा पनि आफूहरू सँगै मिलेर लडेको स्मरण गर्दै महतोले तत्काल एकीकरण नभएपनि मोर्चामै रहेर आफ्ना अधिकार तथा पहिचानका लागि मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘विगतमा मधेशी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । अब अधिकार र पहिचानका लागि मोर्चाबन्दीको विकल्प छैन ।’
अध्यक्ष महतोले मधेशको अधिकारका लागि अब सबै एक भएर लड्ने बेला आएको बताए ।








