कांग्रेस र कम्युनिष्ट संघीयता विरोधी हुन् : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सबैभन्दा ठूलो संकटमा रहेको र यसको मुख्य कारण कांग्रेस र कम्युनिष्टहरू नै भएको बताए ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान’ लाई सम्बोधन गर्दै यादवले यस्तो धारणा राखेका हुन् । उनले कांग्रेस कहिल्यै पनि संघीयता र गणतन्त्रको पक्षमा नरहेको दाबी गरे । ‘बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र कांग्रेसको मूल मन्त्र हो, उनीहरू यही माला जपी रहन्छन्,’ यादवले भने ।

यादवले नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको पनि बताए। उनका अनुसार कम्युनिष्टको साइनबोर्ड लगाएर कमाउने र अवसरवादीहरूको जमात मात्रै रहेको छ, जो संघीयता र समावेशिताको पक्षमा छैनन् । उनले भने, ‘कम्युनिष्टहरू न सिद्धान्तमा कम्युनिष्ट छन्, न विचारमा, न आदर्शमा, न चरित्रमा। यो कमाउने र अवसरवादीको जमात हो ।’

अध्यक्ष यादवले अहिले कांग्रेस र कम्युनिष्ट दुवै मिलेर संघीयतामाथि प्रहार गरिरहेको आरोप लगाए । उनले यसलाई ‘देखावटी संघीयता’, ‘नक्कली संघीयता’ र ‘अपाङ्ग संघीयता’ को संज्ञा दि ए। प्रदेश सरकारहरूसँग अधिकार र कानून नभएको भन्दै उनले यस्तो अवस्थामा सरकारहरूले प्रभावकारी काम गर्न नसक्ने स्पष्ट पारे ।

उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । यसको कारण कांग्रेस र कम्युनिष्ट हुन् ।’ यादवले संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै यसका विरुद्ध सबै संघीयता पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =