ससुराली हिँडेका वडाध्यक्ष बराल ४ दिनदेखि सम्पर्कविहीन

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका-८ फुकोटका वडाध्यक्ष मनिराज बराल विगत चार दिनदेखि बेपत्ता भएका छन् । गत बुधबार बेलुकी रास्कोट-५ लामासिनस्थित ससुराली घर जाने भन्दै हिँडेका बराल हालसम्म सम्पर्कविहीन छन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

वडासचिव कोपिलाकुमारी सञ्ज्यालका अनुसार वडाध्यक्ष बराल दिउँसो वडा कार्यालयबाट नगरपालिकाको काममा गएका थिए र त्यहीँबाट ससुराली हिँडेका थिए । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले पनि बराल ससुराली वा आफ्नै घर कतै पनि नपुगेको पुष्टि गरेका छन् । शाहीले भने, ‘ससुराली पनि घर पनि गएनन् । अन्यत्र कता गए भन्ने पत्ता लगाउन सकिएको छैन ।’

उनले वडाध्यक्षको खोजीका लागि रास्कोट नगरका सबै वडा, हिँड्ने बाटो र सम्भावित स्थानहरूमा नगर प्रहरी र स्थानीय बासिन्दा परिचालन गरिए पनि हालसम्म कुनै पत्तो लाग्न नसकेको जानकारी दिइन् । नगरपालिकाले जारी गरेको एक प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण नियमित औषधि सेवन गरिरहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्ष बराल विगत केही महिनादेखि मानसिक समस्याका कारण मानिसक अस्पताल पाटन ललितपुरमा उपचार गराइ नियमित रूपमा औषधि (लिथियम कार्बोनेट ३०० मिग्रा, क्लोनाजेपाम ०.२५ मिग्रा र ओलान्जापाइन ५ मिग्रा) सेवन गरिरहनुभएको थियो ।’

जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले वडाध्यक्ष बराल हराएको जानकारी प्रहरी चौकी रास्कोटमार्फत आएपछि रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीहरूबाट व्यापक खोजी कार्य भइरहेको बताएका छन् । बरालका पत्नी, एक छोरा र दुई छोरी छन् । परिवारका सदस्यहरू वडाध्यक्षको सकुशल फिर्तीको कामना गरिरहेका छन् भने स्थानीय प्रशासन र प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =