‘वाम एकताको चर्चा : अफवाह बढी वास्तविकता कम’

काठमाडौं । केही दिनयता मिडियामा नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपा पार्टी र नेकपा (एकीकृत समाजवादी) बीच नेकपा मोडलमा एकता हुने हल्लाले व्यापकता पाइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रका धेरै नेता कार्यकर्ता यी समाचार सुनेर आश्चर्यमा परेको प्रतिक्रिया दिन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य केदार सञ्जेलले मुलुकमा वाम एकताको अपरिहार्यता भए पनि बाहिर आएका समाचारहरूमा आए जस्तो पार्टीभित्र औपचारिक रूपमा नउठेको र केन्द्रीय कमिटीमा कुनै निर्णय नभएको विषय कसरी एकता गर्ने अवस्थामा पुग्यो भन्ने कुरा थाहा नभएको बताए ।

यस्ता समाचारले पार्टीका नेताहरू र कार्यकर्ताहरूलाई समेत अन्योलमा पारेको उनले बताए । केन्द्रीय सदस्य सञ्जेल भने, ‘म आफैँ केन्द्रीय कमिटीको सदस्य हुँ। अहिलेसम्म पार्टी एकताको कुनै पनि प्रक्रिया नीतिगत रूपमा निर्णय भएर अघि बढेको छैन। यसलाई नहुने नसक्ने त भन्दिनँ, तर यो प्रक्रियालाई अगाडि लानका लागि पार्टी भित्र केही आन्तरिक निर्णयका प्रक्रियाहरू हुन्छन्। मेरो जानकारीअनुसार अहिले कुनै पनि तहका कमिटीहरूमा यसबारे निर्णय भएको छैन।’

उनका अनुसार, यस्ता अफवाहहरूले केन्द्रीय कमिटीका सदस्यहरू नै अन्योलमा परेका छन्। ‘हामीलाई पनि धेरै ठाउँमा यो प्रश्न उठिरहेको छ। यसबारे के भन्ने, के नभन्ने खालको कुरामा हामी केन्द्रीय कमिटीका सदस्यलगायत अन्य नेताहरू पनि अन्योलमा छौँ’ उनले थपे। उनले यस्ता कुराहरू बाहिर ल्याउने कार्यले पार्टी अनुशासनमा प्रश्न उठ्ने बताए।

असोज ३ को हल्लाः सत्य कि अफवाह  ?
असोज ३ गते संविधान दिवसमा एकता घोषणा हुने समाचारहरू आएका छन्। तर सञ्जेलले यो केवल हल्ला भएको र पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बताए। ‘हल्ला हामीले सुन्यौँ। सामाजिक सञ्जालमा पनि यो देखियो। तर मलाई विश्वास छैन कि हाम्रो पार्टीभित्र यति धेरै परिपक्व नेताहरू छन् जसले प्रक्रिया बुझाएर, कार्यकर्ताको चित्त बुझाएर र कोही फाटेर अलग हुने गरी अघि बढ्छन्’ उनले भने।

उनले जबज र माओवादीलाई वैचारिक कार्यदिशा मानेर जाने भन्ने सहमति भएको समाचारलाई पनि अस्वीकार गरे। “यस्तो हुँदैन होला। यसो गरियो भने महाधिवेशनमा पुग्दाखेरि एकीकरण भएको पार्टीको महाधिवेशन कस्तो होला? एकले अर्कालाई नचिनेको अवस्थामा के हुन्छ?“ उनले प्रश्न गरे।

वैचारिक आधार र एमालेसँगको सम्भावना
एमाले बाहेकका वामपन्थीहरूबीच एकताका लागि वैचारिक, सैद्धान्तिक र राजनीतिक एकरूपता आवश्यक भएको उनले बताए। ‘एकता भन्नाले सैद्धान्तिक, वैचारिक, राजनीतिक सबै कुराहरू त्यहाँभित्र आउनुपर्छ कि पर्दैन? कि तुरुन्तै ल दुई वटा हामी मिलौँ र चुनावमा हामी गएर आधा आधा सिट बाँडेर लडौँ, यसो हो र एकता?’ उनले प्रश्न गरे।

उनका अनुसार मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने र नेपाली मोडलको वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाउने पार्टीहरूबीच प्राथमिकताका आधारमा एकता हुनुपर्छ। नेकपा एमालेसँगको एकताबारे उनले भने, ‘नेकपा एमालेले विगतमा गरेको त्रुटि कमजोरीहरूलाई सच्याउने, त्यो प्रतिबद्धता राख्ने र आजका आवश्यकताका आधारमा यसका नीति सिद्धान्त र कार्यक्रमहरूको बारेमा सहमत हुने हो भने नेकपा एमाले अहिलेको कम्युनिष्ट आन्दोलनभित्र मिलन गर्नलाई किन सक्दैन? सक्छ।’

वाम एकताको आवश्यकता र प्रक्रियागत सतर्कता
नेता सञ्जेलले वाम एकताको विकल्प नभएको बताए। उनले भने, ‘यो मुलुकमा वाम एकताको विकल्प छैन। यदि यसो नगर्ने हो भने बीसौँ, पचासौं वर्षदेखि हामी कम्युनिष्ट पार्टीहरू सदस्य र भोटहरू बहुमतमा हुने तर अरूले राज्य गर्ने यो खालको प्रवृत्तिलाई नचिर्ने हो भने मुलुक अगाडि जान सक्दैन।’ तर एकता प्रक्रियागत रूपमा पारदर्शी र छलफलपूर्ण हुनुपर्ने उनको जोड छ।

उनले विगतमा माओवादीसँग एमालेको एकीकरणको अनुभव स्मरण गर्दै भने, ‘हिजो हामीहरू माओवादीसँग जतिखेर एमाले थियौँ, त्यो बेलामा हामीले एकीकरण गरेको होइन र? त्यो एकीकरणले के सार्थकता पायो? कति महिना हामी टिक्यौँ र त्यो एकीकरण भत्किएर गयो। त्यसो हुँदा त्यहाँबाट हामीले एउटा लेसन लिएका छौँ।’ प्रक्रियाविहीन एकता दिगो नहुने उनको ठम्याइ छ।

नेतृत्वको भूमिका र २०८४ को चिन्ता
कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित हुने उनको मान्यता छ। ‘कम्युनिष्ट पार्टी भनेको कार्यकर्तामा आधारित पार्टी हुन्छन्। दुनियाँको सबै ठाउँको यही नै हो’ उनले भने। नेतृत्वले टप–डाउन होइन, बटम–अप छलफल गर्नुपर्ने उनको सुझाव छ।

उनले २०८४ को निर्वाचनलाई मध्यनजर गर्दै त्रुटि गर्न नहुने बताए । ‘यदि वामपन्थीहरूले परिवर्तनका संवाहक भएर जनताका आकांक्षाहरू पूरा गर्ने तहबाट नजाने हो भने आउँदो ८४ को निर्वाचनमा हामी कुन स्थितिमा बन्छौँ, त्यो चाहिँ मलाई भयंकर डर लागेको छ’ उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =