पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुदको आयोजना रोकियो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाएका छन् ।
कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रवार भएको अखिल नेपाल खेलकुद महासंघको चौथो राट्रिय सम्मेलनको अवसरमा अध्यक्ष दाहालले रंगशालामा तयार भएको अवस्थामा नयाँ सरकार आउने बित्तिकै राष्ट्रिय खेलकुदको आयोजना हुन नदिएको बताएका छन् ।
माओवादीबाट आएका व्यक्ति खेलकुदमा रहेसम्म राष्ट्रिय खेलकुद गर्नु हुँदैन भन्ने धारणा हुँदा राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको उनको भनाइ छ । अध्यक्ष दाहालले सम्भव भएसम्म राष्ट्रिय खेलकुद नै आयोजना नगर्ने नीति लिएको प्रष्ट देखिने बताए ।
त्यसको विरुद्ध अखिल नेपाल खेलकुद महासंघले यो खराब विषयमा आक्रामक तरिकाले हस्तक्षेप गर्न अपील गरे । उनले माओवादीका केन्द्रका व्यक्ति खेलकुद क्षेत्रमा हुँदा खेलमा धेरै विकास गरे पनि त्यसलाई प्रभावित गर्ने काम भएको आरोप लगाए ।
त्यसैले अखिल नेपाल खेलकुद महासंघले पनि थप सक्रियता बढाएर खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने उनले औंल्याए । अध्यक्ष दाहालले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला रहेको औंल्याए ।
राष्ट्रिय एकता र भाइचाराको प्रवद्र्धनमा पनि खेलकुद क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे । तर समय कालखण्डमा खेलकुद क्षेत्रको दुरुपयोग भएको उनको भनाइ छ । पञ्चायती तानाशाहको रक्षा गर्नका निम्ती खेल क्षेत्रको सबैभन्दा बढी दुरुपयोग गरिएको दाहालले जिकिर गरे ।
निरकुंसताको रक्षाका लागि युवा खेलाडीको दुरुपयोग गरिएको उनको ठहर छ । तर गणतन्त्र स्थापनापछि आपूmहरूले नेपाली खेलकुद र खेलाडीलाई राष्ट्रिय एकता निर्माण, अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि प्रोत्साहन गर्दै आएको बताए ।
यो व्यवस्था आएपछि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुँदै आएको पनि उल्लेख गरे । पहिलोपल्ट आफू गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष दाहालले रचनात्मक र सृजनात्मक ढंगले गाउँ टोलदेखि नै केन्द्रसम्म खेलकुद क्षेत्रलाई गतिशील बनाउन भूमिका खेलेको बताए ।
अध्यक्ष दाहालले आफ्नो पार्टी सरकारमा जाँदा पटकपटक खेलकुद मन्त्रालय राखेर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव पनि आफ्नै पार्टीले पठाएर खेलकुद विकासमा काम गरेको विश्वास व्यक्त गरे ।
अहिले नेपाली खेलाडीहरूले विभिन्न खेलबाट अन्तर्राष्ट्रिय पदक दिलाउँदै देशका नाम पहिचान गराएकाले गर्वको महशुस हुने उनले बताए । राज्यले लगानी बढाउने, खेलाडीहरूलाई उत्प्रेरित गर्ने, राम्रो भौतिक पूर्वाधार निर्माण गर्ने र राम्रो वातावरण निर्माण गर्ने हो भने खेलकुद क्षेत्रले आगामी दिनमा गुणात्मक परिवर्तन आउन उनको विश्वास छ ।
यसले देशको अर्थतन्त्रलाई माथि उठाउनमा पनि मद्दत गर्ने अध्यक्ष दाहालले धारणा राखे । खेल पूर्वाधार निर्माणका लागि आफ्नो पार्टीले लगातार काम गरेको उनको भनाइ । क्रिकेट रंगशाला निर्माण प्रक्रिया होस् वा राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउन आफ्नो क्याबिनेट काम गरेको उनले स्मरण गरे ।
उद्घाटनको अवसरमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दशौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने अवस्थामा सरकारले त्यसमा ध्यान नदिएको आरोप लगाए । गत वर्ष नै हुनुपर्ने राष्ट्रिय खेलकुद अहिलेसम्म नहुनले एकपटक पछि माओवादी केन्द्रको नेतृत्व अपरिहार्य देखिन थालेको माओवादीले नेता बस्नेतले उल्लेख गरे ।
खेलकुदमा धेरै सम्भावना रहे पनि देशका नेतृत्व सही नहुँदा खेलकुद क्षेत्रले दुःख पाएको उनको भनाइ छ । अहिले खेलकुद क्षेत्रमा संघहरू विघटन गर्ने, ओलम्पिक कमिटी दुई वटा बन्ने र खेल क्षेत्रमा सरकारले नै अराजकताको अवस्था सिर्जना गरेको उनको आरोप छ ।
अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा अखिल नेपाल चेस महासंघका अध्यक्ष दीपेन राई र अखिल नेपाल ब्याडमिन्टन संघका अध्यक्ष तिलक पाण्डेलाई खेल प्रतियोगिता आयोजनासँगै खेल विकासमा काम गरेको भन्दै सम्मान गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालाले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । सोही अवसरमा मुवाथाईका खेलाडी र क्योकुशिन करातेका खेलाडीले डेमोन्स्ट्रेसन देखाएका थिए । उक्त राष्ट्रिय सम्मेलन शुक्रबारदेखि दुई दिनसम्म चल्ने अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए ।
उक्त उद्घाटन सत्र अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ को अध्यक्षतामा भएको थियो । पहिलो दिन बन्द सत्रमा अध्यक्ष कोइरालाको राजनीतिक प्रतिवेदन, महासचिव धमलाको सांगठनिक प्रतिवेदन, प्रकाश कुसारीको विधान प्रतिवेदन र कोषाध्यक्ष एलिसा थापाको आर्थिक प्रतिवेदन पास भयो । शनिबार हुने निर्वाचनबाट २१ पदाधिकारीसहित कुल एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने महासचिव धमलाले जानकारी दिए ।








