रोस टेलरको क्रिकेटमा पुनरागमनः सामोआबाट विश्वकप छनोट खेल्ने

काठमाडौं । न्युजिल्यान्ड क्रिकेटका पूर्वकप्तान तथा दिग्गज खेलाडी रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका छन् ।
चार वर्षअघि संन्यास लिएका टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने घोषणा गर्दै पुनः क्रिकेट मैदानमा फर्किने घोषणा गरेका हुन् ।
४१ वर्षीय टेलरले सामाजिक सञ्जालमार्फत सामोआबाट खेल्ने औपचारिक जानकारी दिएका हुन् । ‘म सामोआलाई प्रतिनिधित्व गर्न गइरहेको आधिकारिक घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘यो मलाई मन पर्ने खेलमा फर्किनु मात्र होइन, मेरो सम्पदा, संस्कृति, गाउँ र परिवारको प्रतिनिधित्व गर्न पाउनु ठुलो सम्मान हो ।’
सामोआ उनकी आमाको जन्मभूमि हो । टेलरले यसअघिका दिनमा न्युजिल्यान्डका लागि ११२ टेस्टसहित तीनै फम्र्याटमा ४५० खेल खेलेका थिए । उनले सन् २०२२ को सुरुआतमा अन्तिम पटक न्युजिल्यान्डको जर्सीमा खेलेका थिए । अप्रिलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियमअनुसार उनी सामोआबाट खेल्न योग्य भएका हुन् ।
‘म कुनै रूपमा सहयोग गर्न चाहन्थेँ, जस्तै युवा खेलाडीलाई प्रशिक्षण दिनु वा केही खेलकुद सामाग्री जुटाइदिनु,’ उनले न्युजिल्यान्डको मिडियामा भनेका छन्, ‘तर आफैँ मैदानमा उत्रेर खेलेर सहयोग गर्न पाउने अवसर मिल्यो, जुन मेरो लागि विशेष छ ।’
टेलरले सामोआका लागि अर्को महिना ओमानमा आयोजना हुने एसिया–प्यासिफिक छनोटमा सहभागिता जनाउने छन् । यो प्रतियोगिता सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट चरण हो ।
समूह–३ मा रहेको सामोआले आयोजक ओमान र पपुवा न्यु गिनीसँग प्रतिस्पर्धा गर्नेछ । सो प्रतियोगितामा नेपाल, युएई लगायतका टोली सहभागी छन् । ९ टोलीलाई तीन समूहमा बाँडिएको प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले विश्वकपको टिकट पाउनेछन् ।
यदि नेपाल र सामोआ दुबै टोली आफ्नो समूहको शीर्ष दुईमा पर्ने हो भने उनीहरू सुपर सिक्स चरणमा आमनेसामने हुनेछन् ।
टेलरको पुनरागमनले सामोआलाई नयाँ ऊर्जा दिने अनुमान गरिएको छ भने विश्व क्रिकेटमा पनि उनको उपस्थितिलाई सकारात्मक रूपमा हेरिएको छ ।








