मेरो सदस्यतामाथि प्रश्न उठाउनु दुःखद

महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र- ‘न्यायका लागि आवाज उठाउनु होस्, मैले हार मानेको छैन’

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामी विधान महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै एक भावुक पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको पछिल्लो बैठकले आफ्नो नवीकृत सदस्यतामाथि प्रश्न उठाएको भन्दै भण्डारीले यसलाई पार्टीको उज्ज्वल भविष्य र लोकतान्त्रिक मूल्यको रक्षासँग जोडेकी छन् ।

भण्डारीले आफ्नो पत्रमा २०३७ सालदेखि अविच्छिन्न रहेको पार्टी सदस्यतामाथि अहिले प्रश्न उठाइनु दुःखद भएको बताएकी छन् । ‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको छु,’ उनले लेखेकी छन्, ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो ।’

उनले पार्टीले विशेष निर्णय गरेर राष्ट्रपतिमा पठाएको र कुशलतापूर्वक जिम्मेवारी पूरा गरेर फर्किएपछि पुनः पार्टीमै संलग्न हुन खोज्दा सदस्य हुनबाट रोक्ने प्रयास गरिनुलाई दुःखद भनेकी छन् ।

भण्डारीले राष्ट्रपति पदबाट फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै सदस्यता नवीकरण गरेको र मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा सार्वजनिक रूपमा नै आफू नेकपा (एमाले) परिवारको सदस्य भएको घोषणा गरेको स्मरण गराएकी छन् । त्यसबखत पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा यो विषयमा कुरा भएको पनि उनले खुलाएकी छन् ।

तर, अहिले पार्टीका केही जिम्मेवार कमरेडहरूले आफ्नो सदस्यता नवीकरण नभएको भन्दै सार्वजनिक सञ्चारमाध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्योल र जनतामा भ्रम सिर्जना भएको उनको भनाइ छ । ‘ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ,’ उनले पत्रमा उल्लेख गरेकी छन्। 

भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) ले सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग अहिलेको विवाद मेल नखाने दाबी गरेकी छन् । उनले आफ्नो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्ने बताउँदै, ‘पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो। हाम्रो एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ,’ भनेकी छन् । उनले पार्टीले आफ्नो निर्णय सच्याउँदै एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गरेकी छन् ।

भण्डारीले आफ्नो सदस्यताको सवाल कसैलाई निजी लागे पनि यो पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग जोडिएको विषय भएको बताएकी छन् । उनले पार्टीभित्र लोकतान्त्रीकरणका लागि गरिएका संघर्षहरू र त्यसबेला भोग्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको स्मरण गराउँदै, ती अभियानहरू यति चाँडै बिस्मृतिमा हराउनु नहुनेमा जोड दिएकी छन् । ‘मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ,’ उनले भनेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो आग्रह कुनै व्यक्तिगत आकांक्षाका लागि नभई पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि भएको स्पष्ट पारेकी छन् । उनले विधान महाधिवेशनका प्रतिनिधिहरूले आफ्नो आग्रहलाई गम्भीरतापूर्वक लिने र पार्टीलाई थप सबल, सुदृढ तथा एकताबद्ध बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । उनले जबजले अँगालेका सामाजिक-आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा लक्ष्य हासिल गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =