सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकले थाल्यो काम

काठमाडौँ । नेपालमा सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिने भएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिँदै उक्त निर्णय कार्यान्वयनमा लैजान भनेको हो ।
इन्टरनेट सेवा प्रदायकहरूको सङ्गठनले यसअघि भदौ १७ गते सरकारलाई पत्र लेख्दै आवश्यक तयारी भइरहेको जानकारी दिएको थियो । सोही तयारीअनुसार अब प्राधिकरणसँग समन्वय गर्दै सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई नेटवर्कमै बन्द गर्ने प्रक्रिया अघि बढाइएको सङ्गठनका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
सङ्गठनले सार्वजनिक विज्ञप्ति जारी गर्दै यो निर्णयले प्रयोगकर्ताहरूलाई अस्थायी रूपमा असुविधा हुन सक्नेमा क्षमा मागेको छ ।
द्यपि, सूचीकरण भइसकेका सामाजिक सञ्जालहरू भने नियमित रूपमा सञ्चालन हुने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।








