सूचीकरण नगरेका फेसबुकलगायत सामाजिक सञ्जाल आजैदेखि बन्द हुने

काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा दर्ता (सूचीकरण) नगराई सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुलाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले नेपालमा अनुमति नलिई सञ्चालन भइरहेका फेसबुकसहितका सामाजिक सञ्जालहरूलाई तत्काल बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण सामाजिक सञ्जालहरूलाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो । तर निर्देशनको पालना नगरेपछि सरकार उक्त निर्णय कार्यान्वयनमा उत्रिएको हो ।
‘नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू नियमनमा ल्याउन सरकारले पटकपटक आग्रह गर्दै आएको थियो’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘तर पटकपटकको आग्रह बेवास्ता गरेपछि बाध्य भएर कडाइ गर्नुपरेको हो ।’








