सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने

काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।
सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उनले बताए ।
पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अवस्था बन्नु खुशीको कुरा भएको उनले बताए । सिचुवान एयरलाईन्सले केही समय अगाडी पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारण देखाएर सिचुवान एयरलाईन्सले हाल उडान स्थगित गरेको छ ।
हाल पोखरा विमानस्थलबाट नियमित रुपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एउटा उडान गरिरहेको छ ।
महानिर्देशक निरौलाले भूटान एयरलाईन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने बताए । उनले भूटान एयरलाईन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्ने अनुमति पाएको जानकारी दिए ।
उनकाअनुसार सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा भूटान एयरलाईन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ । चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा संचालन गर्नेगरि भूटान एयरलाईन्सले तयारी गरिरहेको महानिर्देशक निरौलाले जानकारी दिए ।
महानिर्देशक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका विदेशी वायु कम्पनीले पनि तयारी गरेको उनले जानकारी दिए ।
यद्यपि यसबारेमा भने निर्णय गर्न बाँकी रहेको उनको भनाई छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायीहरुले पहल कदमी लिनुपर्ने उनले बताए ।
एयरलाईन्स, एयरपोर्ट बिजनेस एउटा मात्रै सरकारको पहलले सम्भव नहुने उल्लेख गर्दैै उनले यहाँका स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिने बताए ।
महानिर्देशक निरौलाकाअनुसार पोखरा नयाँ विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक हवाई उडानहरु भइरहेका छन् । आन्तरिकतर्फ बुद्ध एयरलाईन्स, यति एयरलाईन्स र श्री एयरलाईन्सले नियमित रुपमा उडान गरिरहेको उनले जानकारी दिए ।
हाल अफसिजनमा पनि दिनमा २ हजार भन्दा बढी यात्रुहरुले आवगमन गरिरहेको उनले बताए । सेप्टेम्वर १५ देखि भने पर्यटन सिजन लाग्ने र त्यस बेलामा भने दैनिक ५० भन्दा बढी उडान हुने उनको भनाई छ ।
करिव ४ हजार यात्रुले आवतजावतको सेवा लिने उनले जानकारी दिए । विगतको तथ्याङ्कअनुसार पनि ४ हजारको हाराहारीमा पिक सिजनमा र अफसिजनमा २ हजार भन्दा बढी यात्रुहरुले सेवा लिएको उनले जानकारी दिए ।
पोखराको पुरानो विमानस्थलबाट भने हाल समिट एयरले पोखराबाट जोमसोमको उडान शुरु गरेको उनले जानकारी दिए । पुरानो विमानस्थलबाट हेलिकप्टर सेवा नियमित रुपमा भईरहेको उनको भनाई छ ।








