एमालेले बोलायो सचिवालय बैठक, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुने छ ।
बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ, पारित भएपछि विधान महाधिवेशनमा प्रस्तुत गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
एमाले विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । विधान महाधिवेशनमा २,३५० जना सहभागी हुनेछन् । महाधिवेशनका लागि सबै तयारी पूरा भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल हुनेछ भने केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ ।








