यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न मन्त्रालय सम्बन्धी मौखिक प्रश्नोत्तरका साथै महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकको प्रारम्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सोधिनेछन्, जसको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनेछन् ।

आजको बैठकमा सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

विशेषगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिकाले आजको बैठकलाई थप महत्वपूर्ण बनाएको छ । यस विधेयकमाथि हुने छलफल र निर्णयले संसदीय प्रक्रियामा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =